यु–२० च्याम्पियनसिपमा बंगलादेशको लगातार दोस्रो जित

न्युजलय १२ साउन २०७९, बिहिबार ०२:४३ मा प्रकाशित

काठमाडौं । साफ यु–२० च्याम्पियनसिप अन्तर्गतको खेलमा बंगलादेशले लगातार दोश्रो खेल जितेको छ । भुवनेश्वरमा भएको खेलमा बंगलादेशले घरेलु टोली भारतलाई २–१ ले पराजित गरेको छ ।


उपाधि दाबेदार भारतमाथि पहिलो हाफमा नै लिएको २–१ को अग्रता जोगाउँदै बंगलादेश विजय भएको हो ।


पहिलो हाफको २९ औं मिनेटमा बंगलादेशका फरवार्ड पियास अहमद नोभाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका हुन् । भारतका गुरकिरत सिंहले ३४औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।


पहिलो हाफको अन्तिम मिनेटमा भारतीय खेलाडीले पेनाल्टी एरिया नजिकै बंगलादेशी खेलाडीलाई फल गरे । त्यसपछि पाएको पेनाल्टीमा पियास अहमद नोभाले गोल गर्दै बंगलादेशको अग्रता कायम राखे ।


पहिलो खेलमा श्रीलंकामाथि १–० को जित निकालेको बंगलादेश लगातार दोस्रो जित सहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।