उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका –७ मा छिमेकीसँगको सामान्य विवादले एक पुरुषको ज्यान गएको छ।
प्रहरीका अनुसार आइतबार राति स्थानीय ७३ वर्षीय रामप्रसाद राई र ६४ वर्षीय माहाशेर राईबिच छरछिमेक सम्बन्धी विषयमा विवाद भएको थियो। विवादका क्रममा आवेगमा आएर रामप्रसादले माहाशेरमाथि धारिलो हतियार प्रहार गरेका थिए।
हतियार प्रहारबाट माहाशेरको छातीको दायाँ पट्टिको माथिल्लो भागमा गहिरो चोट लागेको थियो।
घाइते भएका माहाशेरलाई तत्काल उपचारका लागि नगर अस्पताल बेल्टार लगिएको थियो। तर, अस्पताल पुऱ्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
हत्यामा संलग्न रामप्रसादलाई इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।