काठमाडौँ । बडादसैँअन्तर्गत नवरात्रको दोस्रो दिन आज नवदुर्गा भवानीको दोस्रो स्वरूप ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा तथा आराधना गरिँदै छ । शास्त्रमा ‘ब्रह्म’को अर्थ तपस्या मानिएकाले ब्रह्मचारिणीलाई तप, त्याग, संयम र ब्रह्मचर्यकी प्रतीकका रूपमा लिइन्छ ।
ब्रह्मचारिणी देवीको शिरमा अर्धचन्द्र र नाना प्रकारका आभूषण सुशोभित छन् भने दाहिने हातमा जपको माला र बायाँ हातमा कमण्डलु लिएको विग्रह रहेको छ ।
पौराणिक मान्यता अनुसार माता पार्वतीले भगवान् शिवलाई पतिको रूपमा पाउन ब्रह्मचर्य धारण गरी हजारौँ वर्षसम्म कठोर तपस्या गरेकी थिइन् । पूर्वजन्ममा हिमालय पर्वतकी पुत्री शैलपुत्रीका रूपमा प्रकट भई उनले देवर्षि नारदको उपदेशअनुसार महादेव स्वामी पाऊँ भनी कठिन तपस्या गरेकी हुन् । कठोर तपस्या गरेकै कारण उनको नाम ‘तपस्याचारिणी’ अर्थात् ‘ब्रह्मचारिणी’ रहन गएको हो ।
तप, त्याग, वैराग्य, सदाचार, आत्मबल, धैर्य र ज्ञान वृद्धिका लागि ब्रह्मचारिणीको आराधना गरिन्छ ।