खोटाङमा राष्ट्रिय बाँस सम्मेलन हुने

न्युजलय ३० जेठ २०८१, बुधबार ०२:३५ मा प्रकाशित

खोटाङ । खोटाङको दिक्तेलमा राष्ट्रिय बाँस सम्मेलनको हुने भएको छ । आगामी कार्तिक २, ३ र ४ गते स्थानिय स्तरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा बाँस अनुसन्धान तथा प्रवर्द्धन केन्द्रको आयोजनामा दिक्तेलमा राष्ट्रिय बाँस सम्मेलन हुने भएको हो ।


बाँसलाई जीवनोपयोगी बनाउँदै पर्यावरण संरक्षण गर्ने उद्देश्यकासाथ राष्ट्रिय सम्मेलनको तयारी गरिएको हो । स्थानीय स्तरमा उपलब्ध बाँसलाई उपयोग गर्दै नागरिकमा रोजगारी सृजना, बाँस सम्बन्धी खोजअनुसन्धान तथा बाँस सम्बन्धी योजनाहरु निर्माण गर्नका लागि सम्मेलनको तयारी गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताए ।


दिक्तेलमा आयोजना हुने सम्मेलनले स्थानीय स्तरमा उपलब्ध बाँस तथा नेपालका विभिन्न भू–भागमा पाइने बाँसको विकास, व्यावसायिकरण र नागरिकमा रोजगारीको सृजनाका विषयमा सम्मेलनले मार्गनिर्देश गर्ने लक्ष्य लिइएको नगर प्रमुख भट्टराईको भनाई छ ।