इटहरी । राष्ट्रियसभा सदस्यमा कोशी प्रदेशबाट महिलातर्फ एमालेकी रुक्मिणी कोइराला विजयी भएकी छन् ।
कोइराला ५०८६ मत प्राप्त गरी विजयी भइन् । माओवादीकी चम्पा कार्की ४०९२ मतभार प्राप्त गर्दै पराजित भएकी छन् ।
कोइरालालाई सत्ता गठबन्धनका ३ सांसदले फ्लोर क्रस गरे । ९३ मध्ये उनलाई ४९ जनाको मत आएको छ । यस्तै स्थानीय तहका १३१ जनाले मत हालेका छन् । स्थानीयतर्फका १६ जनाले फ्लोर क्रस गरेका छन् ।
प्रदेशसभामा एमाले र राप्रपाले तालमेल गरेका थिए । एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन् । यस्तै सत्ता गठबन्धनका ४७ सांसद छन् ।
यस्तै अन्यतर्फ नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।
उनले ५२९२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका उद्धव पौडेलले ४५६२ मतभार प्राप्त गरे ।
१३७ वटा स्थानीय तहका प्रमुख–उपप्रमुख र ९३ प्रदेशसभा सदस्यले मत दिन पाउने चुनावमा दुई जनाले मत हालेनन् भने एक जना निलम्बनमा परेकोले भोट हाल्न पाएनन् । धरानका मेयर हर्क साम्पाङ र मोरङको ग्रामथान गाउँपालिकाका प्रमुख जयप्रकाश गच्छदार मतदानमा अनुपस्थित भए ।
साम्पाङ भोट हाल्न गएनन् भने गच्छदार बिरामी भएर विराटनगरको नोबेल मेडिकल कलेजमा भर्ना भएका छन् । झापा गाउँपालिकाका प्रमुख जयनारायण साह भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका कारण उनले मत दिन पाएनन् ।