इटहरी । पोल्याण्डमा दुर्घटनामा परी गम्भीर घाइते भएका इटहरीका अमितकुमार चौधरीलाई नेपाल फर्काउन १७ लाख ८४ हजार ८९२ रुपैयाँ सहयोग संकलन भएको छ।
गैरआवासीय नेपाली सङ्घ पोल्याण्डको अगुवाइमा सञ्चालन गरिएको सहयोग अभियानबाट ४३ हजार ५४ पिएनएल अर्थात् नेपाली रुपैयाँ १७ लाख ८४ हजार ८९२ संकलन भएको हो। सहयोग संकलनसँगै चौधरीलाई आवश्यक प्रक्रिया पूरा गरी केही दिनभित्र नेपाल फर्काउने तयारी गरिएको जनाइएको छ।
तत्कालै ल्याउने तयारी गरिएपनि थेरापी गरेर ह्वील चेयरमा बस्ने सम्मको बनाउने अनि फर्कने टिकटको लागि समय लागेको अभियन्ता दीपक श्रेष्ठले जानकारी दिए ।
गत वैशाखमा दुर्घटनामा परी कम्मरमुनिको भाग नचल्ने अवस्थामा रहेका चौधरीले पोल्याण्डमा लामो समय उपचार गराए पनि नेपाल फर्काउन आवश्यक सहयोग नपाएपछि गैरआवासीय नेपाली सङ्घ पोल्याण्डकी अध्यक्ष रिता तिवारी नेउपानेको अगुवाइमा ‘अमितकुमार चौधरी घर फर्काऊ’ अभियान सञ्चालन गरिएको थियो । जुलाई १३ देखि १० दिनसम्म सञ्चालन गरिएको अभियानमा तामाङ समाज पोल्याण्ड, संयुक्त नेपाली मजदुर समाज, क्लब चुलो, मुस्ताङ मिट एन्ड ग्रोसरी, एनआरएनए पोल्याण्ड, होमेस वार्सा, प्रवासी नेपाली मञ्च पोल्याण्ड, याक्थुङ चुम्लुङ समाज, राष्ट्रिय स्वतन्त्र पार्टी पोल्याण्ड, गुल्मी समाज पोल्याण्डलगायतका संस्थामार्फत् सहयोग संकलन गरिएको थियो भने त्यसबाहेक पनि थप १४५ जना व्यक्तिले सहयोग गरेका थिए ।
चौधरीलाई विशेष सुविधासहितको विमानबाट नेपाल ल्याउन करिब ७ लाख रुपैयाँ खर्च लाग्ने भएपछि सहयोगका लागि नेपाल सरकारसँग आग्रह गरिएको थियो। पोल्याण्डस्थित नेपाली दूतावासले समेत नेपाल सरकारसँग सहयोगका लागि आग्रह गरेको जनाइएको छ। तर नेपाल सरकारले सहयोग नदिएपछि सहयोग उठाइएको हो ।
वैदेशिक रोजगारीका लागि आवश्यक प्रक्रिया पूरा गरी विदेश गएका नेपाली कामदार दुर्घटना वा स्वास्थ्य समस्यामा पर्दा राज्यले आवश्यक सहयोग नगरेको भन्दै यस घटनालाई लिएर नेपाल सरकारको आलोचनासमेत भएको छ।
कामदारबाट विभिन्न शीर्षकमा रकम उठाएर कोष निर्माण गरिए पनि अप्ठ्यारो अवस्थामा कामदारलाई नै आवश्यक सहयोग उपलब्ध नगराइएको भन्दै श्रेष्ठले समेत आलोचना गरेका थिए । चौधरीलाई नेपाल फर्काउन निरन्तर पहल गरिरहेका चौधरीले नेपाल सरकारका श्रम मन्त्रीले सहयोग नगरेको र सांसदहरुले पहल गरेपनि निरिहता देखिएको बताए । उनले नेपाल फर्काउन नसकेपनि नेपाल आइसकेपछि सरकारले उपचारको लागि सहयोग गर्ने आशा व्यक्त गरेका छन् । उनले भने, 'नेपाल आइसकेपछि पनि वहाँलाई उपचारको खाँचो छ । त्यसको लागि नेपाल सरकारले सहयोग गर्छ कि ?'
दुई छोराछोरीको पालनपोषण तथा शिक्षादीक्षा दिने र घरको ऋण तिर्ने उद्देश्यका साथ विदेशिएका अमित थला परेपछि परिवारको पालनपोषणकोलागि समेत सहयोगको आवश्यकता छ ।