काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज काग पूजा गरिँदैछ । यमराजको दूतका रूपमा कागलाई मनपर्ने खानेकुरा दिएर काग तिहार मनाउने प्रचलन छ ।
बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज कागको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ ।
धनवन्तरी जयन्ती भने कात्तिक २१ गते शनिबार अर्थात् आज परेको छ । तिथि घटबढका कारण कात्तिक २२ गते आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
यसैगरी गाईपूजा कात्तिक २३ गते सोमबार परेको छ भने गोरुपूजा, हलितिहार, गोबद्र्धनपूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक २४ गते मंगलबार परेको समितिले जनाएको छ ।
यमपञ्चकको मुख्य दिन भाइटीका भने कात्तिक २५ गते बुधबार परेको छ । पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ः०७ बजेलाई तोकेको छ ।