विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतराधाममा यही चैत्र २७ गतेदेखि वैशाख २८ गतेसम्म महाकुम्भ मेला आयोजना हुँदै छ ।
यसपटकको मेलामा ३० लाख पर्यटक आउने आँकलन गरेर सोहीअनुरुप व्यवस्थापन थालिएको छ ।
आन्तरिक तथा बाह्य पर्यटक गरी ३० लाख आउने अपेक्षा गरेर व्यवस्थापनका लागि विभिन्न २६ वटा उपसमिति गठन गरिएको छ ।
कुम्भमेला प्रारम्भ हुनु पाँच दिनअघिदेखि मेला सम्पन्न भएको पाँच दिनपछिसम्म चतरा बजार क्षेत्रमा मदिरा र माछामासु बिक्रीमा प्रतिबन्ध लगाइने बताइएको छ ।मेला मूल आयोजक समितिका उपाध्यक्ष बराहक्षेत्र– २ का वडाध्यक्ष होमप्रसाद गौतमले मेला तयारीसम्बन्धी ८० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए ।
उनले कुम्भमेलाले बराहक्षेत्र र धरान तथा आसपासका क्षेत्रको धार्मिक पर्यटन विकासमा सहयोग पुग्ने बताए ।
हरेक १२ वर्षमा लाग्ने पूर्णमहाकुम्भ मेलाका बेला धरानको विजयपुरमा अवस्थित पिण्डेश्वर महादेवको दर्शन गर्न समितिले आग्रह गरेको छ ।