एबी आइकेयरसँग तिलगंगाको सेवा साझेदारी सुरु, देशभरी विस्तार गरिने

न्युजलय ९ भदौ २०८०, शनिवार ०६:१८ मा प्रकाशित

काठमाडौं । तिलगंगा आँखा अस्पतालले सार्वजनिक निजी साझेदारी (पीपीपी)मोडलमा पहिलो पटक आफ्नो आफ्नो सेवा विस्तार गरेको छ । अस्पतालले एबी आईकेयरसँगको सहकार्यमा चुच्चेपाटीमा  ‘तिलगंगा सिटी आइ सेन्टर’ संचालनमा ल्याएको हो । 

तिलगंगाले आफ्नो सेवालाई विकेन्द्रिकरण गर्दै देशभर विस्तार गर्ने उद्देश्य अनुरुप नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवं पर्यटन समितिका सभापति देशबन्धु वस्नेत (अजित)को लगानी रहेको एबी होल्डिङ्स अन्तरगतको एबी आईकेयरसँग सहकार्य गरेको हो । 

उक्त सेन्टरको उद्घाटन तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुइत र प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले संयुक्त रुपमा गरेका हुन् । 

अस्पतालका कार्यकारी निर्देशक रुईतले यो कार्यले आँखाको उपचार थप सरल र सहज हुने विश्वास व्यक्त गरे । सेन्टरको उद्घाटन कार्यक्रममा उनले भने, ‘अबका दिनमा एबी आई केयरसँगको पीपीपी मोडलमा तिलगंगा सिटी आईकेयरलाई देशभर विस्तार गरी आँखाका विरामीलाई सेवा दिनेछौं ।’ 

 ‘क्वालिटी आई सर्भिस एट योर डोरस्टेप’ भन्ने मूल मन्त्रलाई अनुसरण गर्दै आफ्नो सेवालाई नेपालभर पुर्याउने अठोट लिएका छौं,’ उनले भने, ‘अबका दिनमा तिलगंगा सिटी आइ सेन्टरले सम्पूर्ण  बिरामीको पहुँचमा पुग्ने गरि काम गर्नेछ ।’

सेन्टरले आधुनिक उपकरण तथा दक्ष जनशक्तिको सहयोगमा नियमित आँखा परीक्षणदेखि जटिल शल्यक्रियासम्मका सेवाहरू दिनेछ । 

पीपीपी मोडलमा उक्त आईसेन्टरको स्थापनासँगै स्वाथ्य क्षेत्रमा निजी क्षेत्रको भुमिका बढ्दै जाने र त्यसले अबका दिनमा विरामीलाई सहज रुपमा सेवा प्रदान गर्नै सकिन तिलगंगा सिटी आईसेन्टरका प्रबन्ध निर्देशक देशबन्धु बस्नेतले बताए । उनले भने, ‘सेन्टरलाई देशभर विस्तार गर्नेछौं जसले गर्दा तिलगंगाको सेवा लिन देशभरबाट काठमाडौं धाईरहनुपर्ने बाध्यता हट्नेछ ।’