काठमाडौं । स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ पहिलो नम्बरमा रहने भएको छ । नेपाली कांग्रेसको निर्वाचन चिह्न ‘रूख’ दोस्रो नम्बरमा रहने निर्वाचन आयोगले जनाएको छ ।
तत्काल अघि भएको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा समावेश गर्ने व्यवस्थाअनुसार पहिलो स्थानमा एमालेको सुर्य चिन्ह रहने भएको हो ।
नेकपा माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडा तेस्रो, जसपाको ढल्केको छाता चौंथो, लोकतान्त्रिक समाजवादी पार्टी (लोपाका)को साइकल पाँचौं र नेकपा एकीकृत समाजवादीको चुनाव चिह्न कलम छैटौं नम्बरमा रहने भएको हो । यी ६ दल राष्ट्रिय मान्यता प्राप्त हुन् ।
२०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले समानुपातिक निर्वाचन प्रणालीतर्फ सबैभन्दा बढी ३१ लाख ७३ हजार ४ सय ९४ मत पाएको थियो भने कांग्रेसले ३१ लाख २८ हजार ३ सय ८९ मत र माओवादी केन्द्रले १३ लाख ३ हजार ७ सय २१ मत प्राप्त गरेको थियो ।