वाटरबोट नियमन तथा सुरक्षाबारे ८ निकायलाई हतुवागढी गाउँपालिकाको पत्र

न्युजलय ३० असोज २०८०, मङ्गलबार ०४:५५ मा प्रकाशित

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिकाले सप्तकोसीमा सञ्चालित वाटरबोट नियमन तथा सुरक्षाबारे चासो गरेको छ । 


हतुवागढी गाउँपालिकाले पानीबोटलाई व्यवस्थितसँगै यात्रुहरूको सुरक्षाको विषयमा समन्वयका लागि ८ वटा निकायलाई पत्राचार गरेको हो ।  


केही दिन अघि पानीबोटमा क्षमता भन्दा बढी यात्रु चढाएर लापरबाही गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो बाहिरिएको थियो । उक्त भिडियोमा बोटको क्षमताभन्दा बढी यात्रु चढाएर बोट सञ्चालन गर्दा इन्जिन अफ भएको र सुरक्षामा चुनौती भएको भन्दै यात्रुहरु आक्रोशित भएका थिए । 


उक्त घटना पश्चात गम्भीर ध्यानाकर्षण भएको भन्दै हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले वाटरबोट सञ्चालन र यात्रुहरूको सुरक्षाको विषयमा सरोकारवालासँग पत्राचार गर्ने बताएका थिए । 


सुनसरीको चतराबाट भोजपुरको सिम्लेसम्म सप्तकोसी नदिमा सञ्चालन भई राखेको जलयातायात सञ्चालनका लागि बोटको क्षमता भन्दा बढी चढाउने, बीचमा इन्जिन फेल हुने घटनाले यात्रुको सुरक्षामा खतरा बढेको भन्दै उक्त जोखिमपूर्ण यात्राको विषयमा ध्यानाकर्षण भएको गाउँपालिकाले जनाएको छ ।


हतुवागढी गाउँपालिकाले जिल्ला प्रशासन कार्यलय भोजपुर, धनकुटा, सुनसरी, उदयपुर, साथै जेटबोट सञ्चालक कम्पनी, बराहक्षेत्र नगरपालिका, शहिदभूमि गाउँपालिका र बेलका नगरपालिकालाई पत्राचार गर्दै वाटरबोट सञ्चालनर व्यवस्थापनमा आइपर्ने समस्याहरुको दीर्घकालिन समाधानको लागि समन्वय गर्न अनुरोध गरेको छ । 

सप्तकोसीमा जल यातायात सुञ्चालन भएसँगै भोजपुरको दक्षिण क्षेत्रबासी हतुवागढी र आमचोकका अधिकांश साथै धनकुटाको सहिदभूमि र बेलका नगरपालिकाका केही स्थानीयलाई तराई–पहाड गर्न छोटो दुरी भएको छ । तर सुरक्षा सम्बन्धमा बोट सञ्चालक कम्पनीहरुले उचित व्यवस्थापन गर्न नसक्दा जोखिम उत्तिकै कायम रहेको छ । 

वाटरबोटको नियमन तथा समन्वयका लागि हतुवागढी गाउँपालिकाले ११ बुँदा अघि सारेको उक्त पत्रमा बोटको कानुनी प्रमाणसँगै यात्रुहरूको सुरक्षा, बोटको क्षमता, दुर्घटना बिमा, समय तालिका र भाडा दरको विषयमा उल्लेख गरिएको छ । 

पत्रमा उल्लेखित बुँदाहरुः

१. वाटरबोट इन्जिन चलाउन योग्य भए नभएको नियमित जाँच हुनुपर्ने ।

२. तालिम प्राप्त योग्य चालक तथा सहचालकको व्यवस्था हुनुपर्ने । 

३. समय तालिका निर्धारण गरी सञ्चालन हुनुपर्ने र टिकटको व्यवस्था हुनुपर्ने । 

४. सुलभ दरमा भाडा तोक्नुपर्ने । 

५. लाइफ ज्याकेटको व्यवस्था हुनुपर्ने र सोको परिपालना अनिवार्य गराउनुपर्ने । 

६. झर्ने र ओराल्ने विन्दुमा नै क्षमता भनदा बढी यात्रु चढाउन नपाइने व्यवस्था हुनुपर्ने । 

७. नियमित रुपमा अनुगमन हुनुपर्ने । 

८. संचालकहरुले सम्बन्धित सरोकारवालाहरु सहित छलफल गर्नुपर्ने । 

९. वाटरबोट सञ्चालनको अनुमति प्रदान तथा नियमनको आवश्यक व्यवस्थाको लागि कानुनी व्यवस्थापन हुनुपर्ने ।

१०. संचालक तथा सुरक्षा निकायको समन्वयमा तालिम प्राप्त उद्दार टोली तयारी अवस्थामा रहनुपर्ने । 

११. सरोकारवाला क्षेत्रका हतुवागढी गाउँपालिका, भोजपुर, सहिदभूमि गाउँपालिका, धनकुटा, बराहक्षेत्र नगरपालिका, सुनसरी र बेलका नगरपालिका, उदयपुर बिच समन्वय समेत भई नियमन हुनुपर्ने ।