नतिजा तथ्यपरक नभएको भन्दै पुनः जनगणना गर्न सांसदहरुको माग

न्युजलय १९ माघ २०७८, बुधबार १२:५३ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको १२ औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्कको नतिजा तथ्यपरक नभएको भन्दै आपत्ति जनाएका छन् । 


मंगलबार प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसकी सांसद प्रमिला राईले राज्यको उद्देश्य र जनताले चाहे अनुसार जनगणना नभएको उल्लेख गर्दै पुनः गणना गर्न समेत माग गरे ।


प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद पाण्डेले काठमाडौंको जनगणनाको प्रारम्भिक नतिजा तथ्यपरक नहुनुको कारण स्पष्ट पार्न केन्द्रिय तथ्यांक विभागसँग माग गरे । उनले काठमाडौँमा सधैँ माइग्रेशन बढिरहने तर त्यस अनुपातमा जनसंख्या घट्ने काम हुनै नसक्ने हुँदाहुँदै पनि तथ्यांक विभागको प्रारम्भिक नतिजामा घटेर आउनुको कारण आफूले बुझ्न नसकेको बताए । 

 

राईले गणकहरुलाई घरघरमा पुर्याएर तथ्यांक संकलन गर्ने काम नभएको अनुभूति सुनाउँदै आपत्ति जनाइन् । उनले भनिन्, ‘मेरो घरमा आएर एक पटक पनि सोधिएन । मेरो परिवार कसैसँग कुनै पनि कर्मचारी आएर सोधपुछ गरेको या यो तथ्यांक लिएको छैन । र, मलाई पनि त्यो अनुभव नभएकाले किन आएनन् त ? राज्यको उद्देश्य र जनताले चाहेजस्तो यो गणना भएको छैन । तथ्यांक आएको छैन । विदेशमा गएकाहरुको गणना छुटेको अवस्था छ । छुटेको जनसंख्यालाई गणना गर्ने के कार्यक्रम छ, योजना छ ? त्यो पनि आउनु पर्यो । र हाम्रो देशको जनसंख्या सही तरीकाले तथ्यांक सहित आउनु पर्यो । मलाई लाग्छ, फेरी पनि पुनः गणना गर्यो भने सही तथ्यांक आउँछ ।’ 


यता, केन्द्रिय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै कोरोनाको असहज परिस्थितिका कारण जनगणनामा केही तलमाथि भएको हुन सक्ने बताए । उनले यो प्रारम्भिक नतिजा भएको र पूर्ण भएर आउँदा सबै तथ्य आउनेतर्फ पनि सांसदहरुको ध्यानाकर्षण गराए ।