काठमाडौँ । यस वर्षको एसइई बिहीबारदेखि सुरु हुँदै छ । जसमा पाँच लाख चार हजार ४१४ जना विद्यार्थी सहभागि हुँदैछन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ । परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुने छ ।
सबैभन्दा बढी परीक्षार्थी काठमाडौँका ३८ हजार ८१३ जना र सबैभन्दा कम जापानका २३ जना छन् । परीक्षाका लागि देशभरि दुई हजार ६४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा धेरै परीक्षा केन्द्र बागमती प्रदेशमा ४४१ वटा निर्धारण गरिएको छ । नेपाली भाषामा पढाइ सञ्चालन गरिरहेको जापानमा पनि एउटा परीक्षा केन्द्र तोकिएको छ ।
यस पटकबाट परीक्षार्थीको प्राप्ताङ्कलाई आठ वटा ग्रेडमा विभाजन गरेर नतिजा प्रकाशन गरिने छ । गत वर्षसम्म नौ वटा ग्रेडमा नतिजा प्रकाशन गर्ने गरिएको थियो । यस पटकदेखि परीक्षार्थीले हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनतर्फ ४० प्रतिशत ल्याउनै पर्छ । दुई विषयसम्म ननग्रेडेड (एनजी) ल्याउनेलाई ग्रेड वृद्धिको मौका दिइने छ । यस वर्षदेखि परीक्षा सञ्चालन हुने सात वटै विषयमा २५ अङ्कको आन्तरिक मूल्याङ्कन हुने छ भने ७५ अङ्कको मात्र सैद्धान्तिक परीक्षा हुने छ ।