मझुवागढीलाई ध्वस्त पारेर ट्यांकी बनाइएपछि किराया पुरातत्व विभागको अनुगमन

न्युजलय ३१ असोज २०८०, बुधबार ०७:४४ मा प्रकाशित

खोटाङ । किरात राई यायोक्खा (किराया), पुरातत्व विभागले ऐतिहासिक मझुवागढीलाई मासेर खानेपानी ट्यांकी निर्माण गरिएको स्थल अनुगमन गरेको छ ।


खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्थित उक्त सम्पदालाई संरक्षण गर्नुको साटो त्यसलाई मासेर ट्यांकी निर्माण गरिएको भन्दै चौतर्फी विरोधपछि विभागले सोमबार अनुगमन गरिएको हो ।


मझुवागढी संरक्षण समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति खोटाङका पूर्वप्रमुख बबि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नरपालिका–५ का वडाध्यक्ष दिनेशकुमार घिमिरे लगायतको अगुवाइमा ट्यांकी बनाउने निर्णय गरिएको हो । मेवाखोला लिफ्टिङ खानेपानी योजनाको डिष्टिब्युसन ट्यांकी मझुवागढीको पश्चिमतर्फको बंकरभित्रै निर्माण गरिएको छ । 


उक्त ठाउँमा १८०४ सालसम्म रणवीर राईले राज्य गरेको र त्यसलाई संरक्षण गर्नु पर्नेमा ध्वस्त गरिएको भन्दै चौतर्फी विराध भएको थियो । गढीको बंकरभित्र ट्यांकी निर्माण गर्दा ऐतिहासिक सम्पदा ध्वस्त भएकाले यसप्रति सम्बन्धित निकायको ध्यान जानु पर्ने किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातले बताए ।



५४ करोड ६७ लाख नौ हजार सात सय १४ रूपैयाँको लागतमा सञ्चालित उक्त योजनाले दिक्तेल, खाल्ले, लफ्याङ, बाम्राङ लगायतका करिब ५ हजार घरधुरीलाई पुग्ने उपभोक्ता समितिका अध्यक्ष ललितकुमार राईले बताए । २०८२ भदौ ४ गतेसम्म सक्ने गरी २०७९ साउन २२ गते मृत संजीवनी सगरमाथा जेवीले सम्झौता गरेको थियो ।