वीपी प्रतिष्ठान धरानका इन्टर्न डाक्टर भत्ता बढाउनु पर्ने माग राखेर आन्दोलनमा

न्युजलय ३३ जेठ २०८०, शुक्रबार ०८:१० मा प्रकाशित

विराटनगर । भत्ता वृद्धिको माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत इन्टर्न डाक्टर आन्दोलनमा उत्रिएका छन् ।

प्रतिष्ठानमा १३० जना इन्टर्न डाक्टर कार्यरत छन् । प्रतिष्ठानले जीवन निर्वाह भत्ता बापत इन्टर्न गरिरहेका डाक्टरलाई मासिक १८ हजार ३ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ । यो भत्ता तीन वर्षयता बढेको छैन ।

भत्ता वृद्धिको माग गर्दै तीन दिनदेखि कालोपट्टी बाधेरमा काममा उत्रिएको इन्टर्न डाक्टरहरुले बताएका छन् । महंगी अनुसार मासिक २४ हजार रुपैयाँ जीवन निर्वाह भत्ता पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको उनीहरुले बताए । 

आन्दोलनमा उत्रिएका चिकित्सकहरुले बारम्बार प्रतिष्ठान प्रशासनसँग आग्रह गर्दा आफ्नो माग सुनुवाइ नभएको बताएका छन् । प्रतिष्ठानले श्रमशोषण गरेको उनीहरुको गुनासो छ ।