एमसिसी र महाभियोगको पक्षमा उभिने कांग्रेस संसदीय दलको निर्णय

न्युजलय ३ फाल्गुण २०७८, मङ्गलबार ०९:०२ मा प्रकाशित

काठमाडौ । नेपाली कांग्रेसले एमसिसी र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग पारित गर्न आव्हान गरेको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले एमसिसी र महाअभियोगको पक्षमा उभिने निर्णय गरेको हो । नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले बुधबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेस हुनसक्ने बताएका छन् ।

मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोईरालाले एमसीसी नेपालका लागि राम्रो भएकाले पारित गरिनुपर्ने पार्टीको धारणा रहेको बताए । 

त्यस्तै पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा.रामशरण महतले एमसीसी राष्ट्रिय हीतमा रहेकाले कुनै पनि हालतमा पारित गर्नुपर्ने बताए ।नेता महतले एमसीसी पारित गरेमा राष्ट्रको आर्थिक वृद्धि हुने, रोजगारीका अवसरहरु बढ्ने र पूर्वाधारको विकास हुने पनि बताए । 

नेपाली काँग्रेसकी नेतृ सुजाता कोईरालाले एमसीसी पास गर्न ढिलाई गर्न नहुने बताइन् । उनले अनुदान लिन्न भन्नु हाँस्यास्पद भएकोले अन्तर्राष्ट्रिय सम्बन्धलाई राम्रो बनाइराख्न एमसीसी टेबुलबाट पास गर्नुपर्ने बताइन् ।