कचना माविको भवन उद्घाटन : व्यवस्थापन समिति ओली ल्याउने, नगरप्रमुख रोक्ने

न्युजलय १३ फाल्गुण २०८०, आइतबार ०९:२२ मा प्रकाशित

इटहरी । आइतबार साँझ इटहरी उपमहानगरपालिकाले एउटा विज्ञप्ती जारी गरेको छ । जसमा इटहरीस्थित कचना माविको भवन उद्घाटन स्थगित गरिएको उल्लेख छ । 


आउँदो फागुन १६ गते बुधबार इटहरीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त नवनिर्मित भवन उद्घाटन गर्ने सुचना आइतबार दिउँसो सामाजिक सञ्जालमा देखिएको थियो । त्यसपछि उपमहानगरपालिकाले विज्ञप्ती निकालेर कार्यक्रम नै स्थगित भएको घोषणा गरेको हो । तयारी पुरा नभएको भन्दै उद्घाटन स्थगित भएको विज्ञप्ती जारी गरेको छ ।


बुधबार एमाले अध्यक्ष ओली सुनसरीका विभिन्न कार्यक्रममा सहभागि हुन आउने कार्यक्रम छ । सोही क्रममा इटहरी ४ मा रहेको कचना स्कुलको भवनसमेत उद्घाटन गर्ने योजना विद्यालय व्यवस्थापन समितिले बनाएको थियो । 


व्यवस्थापन समिति अध्यक्ष तथा एमाले नेता डिकबहादुर राईले निर्धारित कार्यक्रम नरोकिने जनाएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै नगरप्रमुख पुर्वाग्रही भएको आरोप लगाएका छन् । उनले पुर्वनिर्धारित कार्यक्रममा सहभागि हुन आह्वान गरेका छन् ।


तर नगरप्रमुख हेमकर्ण पौडेल आफैले हस्ताक्षर गरेको विज्ञप्तीमा भने विद्यालय नगरको क्षेत्राधिकारभित्र पर्ने उल्लेख छ । 


विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्ने विषयमा नगरप्रमुख र विद्यालय व्यवस्थापन समितिबिचको विवाद कार्यक्रममा आसन ग्रहण गर्ने र कसले उद्घाटन गर्ने भन्ने विषयमा कुरा नमिलेपछि देखिएको बताइएको छ । पहिले जारी भएको सुचनाअनुसार प्रधानमन्त्री ओली प्रमुख अतिथि र नगरप्रमुख विशेषअतिथी बन्ने भनिएको थियो । तर पछि ओलीसँगै पार्टीका अन्य शीर्ष नेताहरुसमेत आउने भएपछि कार्यक्रमको सेड्युअल परिवर्तन भएको र त्यसपछि विज्ञप्ती आएको बताइएको छ । 


सर्वसाधारणहरुले भने विद्यालय भवन उद्घाटनमा विद्यालय व्यवस्थापन समिति र उपमहानगरपालिकाबिचको प्रतिष्पर्धा अनुचित रहेको टिप्पणी गरेका छन् ।