गौतमबुद्ध विमानस्थलमा जेठ २ देखि व्यावसायिक उडान हुने

न्युजलय १६ फाल्गुण २०७८, सोमबार ०१:३८ मा प्रकाशित

काठमाडौं । रूपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ २ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ ।

 

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थलको परीक्षण उडान सफलताका साथ सकिएको जानकारी दिँदै २ जेठबाट व्यावसायिक उडान गर्न तयारी भइरहेको बताएका हुन् ।


विमानस्थलमा गत शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गरेको थियो । प्राधिकरणका अनुसार परीक्षण उडान सफलताका साथ सकिएपछि जेठ पहिलो सातादेखि व्यावसायिक उडान गर्न तयारी गरिएको हो ।


विमानस्थलमा एरो थाईको जहाजले परीक्षण उडान गरेको थियो । क्यालिब्रेसन उडानपश्चात अन्तर्राष्ट्रिय हवाई उडान मापदण्ड बमोजिम रिपोर्ट प्रतिवेदन प्रकाशन गरिएको छ । रिपोर्ट आएको दुई महिनापछि मात्रै ठूला जहाज सञ्चालनयोग्य हुने भएकाले २ जेठ अर्थात बुद्ध पूर्णिमाबाट व्यावसायिक उडान भर्ने तयारी प्राधिकरणको रहेको छ ।