काठमाडौं । आकस्मिक रूपमा सवारीचालक अनुमतीपत्र (लाइसेन्स) लिन आवेदन खुला गरिएको छ।
यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै लाइसेन्स लिनका लागि अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको हो।
आगामी असोज ७ गतेदेखि सेवाग्राहीले आकस्मिक रूपमा लाइसेन्स लिन सक्नेछन्। त्यसका लागि अनलाइनमार्फत आवेदन दिनुपर्नेछ।
‘अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिशनका लागि विदेश जाने नेपाली सेना एवम् नेपाल प्रहरी र गैरआवासीय नेपाली नागरिकहरूको लागि सवारी चालक अनुमतिपत्र शीघ्र प्रिन्ट गर्न यस विभागको अनलाइन सवारी चालक अनुमतिपत्र प्रणालीको पोर्टलमार्फत आगामी असोज ७ गते शुक्रबारदेखि अनिवार्य रूपमा अनलाइन निवेदन दिने व्यवस्था गर्न लागेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ जारी सूचनामा भनिएको छ ।
सेवाग्राहीले आवश्यक कागजात अनलाइनमा नै प्रविष्ट गर्नसक्ने व्यवस्था मिलाइएको छ।