काठमाडौं । नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको पुष्टि भएको छ ।
काभ्रेको धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको अणुवांशिक (जिन सिक्वेन्सिङ) अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले जानकारी दिए । उनका अनुसार यो नयाँ देखिएको सङ्क्रमण ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति 'BA5U' हो । निर्देशक दासले नयाँ प्रजातिको भेरियन्टबारे अध्ययन गरिरहेको बताए ।
ओमिक्रोनको अरू भेरियन्ट भन्दा पनि यो बढी सङ्क्रामक भएको विज्ञहरूले बताउँदै आएका छन् । तर यो भेरियन्टका कारण अस्पतालमा भर्ना हुने र ज्यान गुमाउन सक्ने जोखिम भने धेरै नभएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका निर्देशक डा. रुना झाले जानकारी दिइन् । नयाँ प्रजातिको यो भेरियन्ट नियन्त्रणका लागि सरकारले परीक्षण किटदेखि अस्पताल, स्वास्थ्यकर्मी सबै तयारी अवस्थामा राखेको डा. झाको भनाइ छ ।