काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई नागरिकता वितरण अभियान सुरु गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा आयोजित विशेष समारोहमा गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यलाई नागरिकता दिँदै अभियान सुरु गरेका हुन् ।
आचार्यले पर्वत जिल्ला प्रशासन कार्यालयबाट असोज २८ गते नागरिकताको प्रमाणपत्र पाएका हुन् । पर्वतका प्रमुख जिल्ला अधिकारी र प्रधानमन्त्रीले नागरिकता प्रदान गर्दै अभियानको सुरुआत गरे ।
यस्तै गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष बद्री केसीले पनि नागरिकताको प्रमाणपत्र लिएका छन् । केसीको नागरिकता असोज २९ गते काठमाडौंबाट जारी भएको थियो ।
गत जेठमा नागरिकतासम्बन्धी ऐन संशोधन भएपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको हो । नागरिकता प्राप्त गरेपछि उनीहरूले ईश्वर, देश र जनताको नाममा शपथ लिनुपर्ने छ ।
गत भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको नेपाल नागरिकता नियमावली तेस्रो संशोधनमा शपथको व्यवस्था राखिएको छ । गत जेठ १७ गते सरकारले नागरिकता ऐनमा गैरआवासीय नेपालीले नागरिकता पाउन सक्नेगरी संशोधन गरेको थियो ।
संशोधित ऐनको दफा ७ ९क० मा नेपाली नागरिकता प्राप्त गर्नुपर्ने व्यक्तिलाई तोकिएबमोजिम शपथ गराउनुपर्ने उल्लेख छ ।