कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिने

न्युजलय २३ जेठ २०८०, मङ्गलबार ०७:१४ मा प्रकाशित

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने निर्णय गरेको छ । 

मंगलबार(आज) प्रदेश संसदीय दल र पार्टी पदाधिकारीबीच बसेको संयुक्त बैठकपछि नेकपा माओवादी केन्द्रले कोशी सरकार छाड्ने निर्णय गरेको हो ।

संयुक्त बैठकले सरकारमा सहभागी दुई मन्त्रीहरूलाई राजीनामा बुझाउने र संसदीय दललाई सरकारको समर्थन फिर्ता गर्न निर्देशन दिएको बताइएको छ । 

मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको कोशी सरकारमा माओवादीको तर्फबाट कार्की नेतृत्वको सरकारमा दुई जना मन्त्री सहभागी थिए । माओवादी केन्द्रको सचिवालय बैठकले एमाले नेतृत्वको सरकारको समर्थन छोड्न निर्देशन दिएपछि सोमबारदेखि नै प्रदेश नेतृत्वमा सरकार छोड्नेबारे छलफल सुरु भएको थियो ।

सोमबार मात्र संसदीय दलको बैठकले सरकारको छाड्ने नछाड्नेबारे छलफल चलाएको थियो । छलफलले पार्टी नेतृत्वबीचसमेत छलफल गर्नुपर्ने भन्दै आजको लागि संयुक्त बैठक बोलाएको थियो । 

केही दिनअगाडि सरकारमा सहभागी जसपासमेत सरकारबाट बाहिरिएको थियो । जसपाकी एक मात्र सांसद निर्मला लिम्बूले पनि स्वास्थ्यमन्त्रीबाट राजीनामा दिएकी थिइन् । 

माओवादीका १२ सांसदले समर्थन फिर्ता लिएसँगै हिक्मत कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ ।