संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–३ नयाँ बस्तीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
खाँदबारी –किमाथाङ्का सडक खण्डको मकालु –३ नयाँ बस्तीमा मोटरसाइकल दुर्घटना हुँदा भोटखोला गाउँपालिका –२ का रुकुमाका ३५ वर्षीय फुर्पु छिरिङ लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल दुर्घटनामा घाइते भएका लामाको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र मकालु गाउँपालिका –५ नुममा गएराति मृत्यु भएको हो।
मंगलबार बेलुका भोटखोला गाउँपालिकाको गोलाबाट खाँदबारी आउँदै गरेको प्रदेश १–०२–०५२ प ०४५२ नम्बरको मोटरसाइकल सडकभन्दा १ सय मिटर तल खसेको थियो।
मोटरसाइकल दुर्घटना परेर भोटखोला गाउँपालिका –४ का चालक ३२ वर्षीय तटुक शेर्पा घाइते भएका छन्। घाइते शेर्पाको प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचार भइरहेको छ।
मृतक लामाको शव बुधबार जिल्ला अस्पताल संखुवासभामा पोष्टमार्टम गरिएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।