काठमाडौं । हप्तामा दुई दिन बिदा दिने निर्णय व्यावहारिक नभएको भन्दै निजी विद्यालयका तीन संस्थाले दुई दिन बिदा लागु नगर्ने जनाएका छन् । तर, शिक्षक महासंघले भने सरकारले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने बताएको छ ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले अव्यावहारिक बिदा कार्यान्वयन नगर्ने स्पष्ट पारेको छ । प्याब्सन र राष्ट्रिय प्याब्सन (एन प्याब्सन)ले सरकारको निर्णय कार्यान्वयन गर्न मुस्किल हुने जनाएको छ । प्याब्सनका अध्यक्ष डिके ढुंगानाले अव्यावहारिक विषयमा छलफल गरेर मात्र निर्णय गर्ने बताए ।
उनले भने, ‘अधिकांश विद्यालयका विद्यार्थी हिँडेरै विद्यालय पुग्ने गरेका छन् । शहरका केही विद्यालयमा मात्र सवारी साधनको व्यवस्था देखिएको छ । त्यसैले इन्धन खपतकै कारण देखाएर दुई दिन बिदा दिन हुँदैन ।’ उनले दुई दिन बिदा दिँदा पठनपाठन, परीक्षालगायत सबै विषयमा समस्या पर्ने बताए ।
सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै सबै सरकारी निकाय र शिक्षण संस्था दुई दिन बिदा दिने निर्णय गरेको थियो । सो निर्णय यही जेठ १ गतेबाट लागु हँुदैछ । दुई दिन बिदाका कारण जेठमा लगातार चार दिन बिदा हुने भएको छ ।
नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले सरकारले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने बताए ।
सरकारले परीक्षणका लागि भन्दै जेठ १ गतेदेखि लागु हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शैक्षिक सत्र २०७९ मा ४३ दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले गरिसकेको छ । गत फागुन २८ मै राजपत्रमा सूचना जारी गरी सरकारले २०७९ सालको बिदा सार्वजनिक गरिसकेको छ ।
यो वर्ष ५२ ओटा शनिबार परेका छन् । यसरी हेर्दा आइतबार पनि सोही संख्यामा पर्न आउँछन् । वर्षभरिमा सार्वजनिक बिदा १ सय ४७ दिन हुन जान्छ । यसबाहेक विद्यालयले हिउँदे र बर्खे बिदा ४५ दिन र स्थानीय पर्व बिदा ५ दिन गरेर ५० दिन बिदा गर्न पाउँछ । यो अवस्थामा दुई दिन बिदा पाएमा शैक्षिकसत्र करिब १ सय ६५ दिन मात्र हुने देखिएको छ ।