विराटनगर । आज कोशी प्रदेशले नयाँ मुख्यमन्त्री पाउने भएको छ ।
केन्द्रको सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता इन्द्र आङबो र नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसको विद्रोही पक्षधरबाट केदार कार्कीमध्ये प्रदेश प्रमुख परशुराम खापुङले कसलाई मुख्यमन्त्री नियुक्त गर्ने हुन् त्यसको छिनोफानो आज गर्नेछन् ।
यद्यपि कानूनी प्रक्रिया पूरा भइसकेपछि हिजो शनिबार नै उनले निर्णय लिनु पर्ने थियो । संविधानको धारा १६८ को उपधारा ५ मा गइसकेपछि पार्टीको ह्वीप लाग्दैन र पार्टीले कुनै पक्षमा लागेको भनेर कारबाहीसमेत गर्न पाउँदैन ।
तर नेपाली कांग्रेसको संस्थापनको धम्की कायम रहँदा विद्रोही बनेर दाबी पेश गरेका केदार कार्की (कांग्रेस संस्थापन इतर डा. शेखर कोइरालाका नजिकका) सँग स्पष्ट बहुमत र सशरीर उपस्थित भएर हस्ताक्षर गरेका ४७ सांसद नै गएर मुख्यमन्त्रीका लागि प्रमाण दिँदा पनि प्रदेश प्रमुख खापुङले निरीहता देखाए ।
केन्द्रको सत्ता गठबन्धनका साझा दावेदारी दिएका माओवादीका आङबोको पक्षमा हस्ताक्षर गर्ने कांग्रेसका आठ सांसदले पछि सशरीर उपस्थित भएर कार्कीको पक्षमा हस्ताक्षर गरेपछि त्यो आधिकारिक हुने थियो । तर मुख्यमन्त्रीले त्यसो गरेनन् ।
अब यो अन्तिम पटकको अवसर हो । यदि यसपालि पनि कोशीले मुख्यमन्त्री पाएन भने मध्यावधि निर्वाचन नगरी सुखै छैन । प्रदेश प्रमुख खापुङले आज दुवै पक्षका सांसदहरुको सनाखत गराउन लागेका छन् । अहिले ८ बजेदेखि दिउँसो २ बजेभित्र सनाखत गराइसकेपछि आज मुख्यमन्त्री नियुक्ति गर्ने उनको सचिवालयले जनाएको छ ।
आङ्बोले गठबन्धनमा रहेका दलहरूमध्ये नेपाली कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ४ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् भने कांग्रेसका विद्रोही उम्मेदवार कार्कीले आफूसहित कांग्रेसका ८ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कूल ४७ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी पेश गरेका छन् ।
आङबोले बुझाएको पत्रमा राखिएको आफ्नो समुहका सांसदहरुको हस्ताक्षर नक्कली भएको दाबी गर्दै कार्की समूहले प्रतिवाद गर्दै आएको छ । सो समूहले आङबोले बुझाएको हस्ताक्षर नक्कली भएको भन्दै अस्विकार गर्दै आएको छ ।
एमालेले भने आफ्नोतर्फबाट सरकार नबन्ने निश्चित भएपछि कांग्रेसको विद्रोही पक्ष चुनेको हो । यसले केन्द्रसम्मको राजनीतिक समीकरण बदलिने शंका उपशंका हुन थालेको छ ।
सो आन्तरिक विवादका कारण उत्पन्न परिस्थितिका बारेमा परामर्श गरेर आज निर्णय लिने प्रदेश प्रमुख खापुङले जानकारी गराएका छन् । यही आधारमा कोशीले १० महिनाको अवधिमा पाँचौँ मुख्यमन्त्री पाउने छ ।
यसअघि एमालेका हिक्मतकुमार कार्की २ पटक तथा कांग्रेसका उद्धव थापा २ पटक मुख्यमन्त्री भइसकेका छन् । यसरी सत्ता केन्द्रित किचलोका कारण संघीयतामाथि नै प्रश्न उठ्ने गरी राजनीति गरिएकोप्रति नागरिकतहमा आक्रोश पैदा भएको छ ।