इटहरीमा बंगाली नाटक : दर्शक र कलाकारको रुवाबासी

न्युजलय १९ कार्तिक २०८०, आइतबार ०८:३१ मा प्रकाशित

इटहरी । भारतको पश्चिम बंगालका महिला कलाकारहरुले आइतबार इटहरीमा ‘एक्टु अगुन दे’ नामक नाटक प्रदर्शन गरे ।

महिला भएकै कारण भोग्नुपरेको पीडालाई महिलाहरुको टिमले प्रस्तुत गर्यो । झण्डै ४५ मिनेटको नाटक भाषाका आधारमा त दर्शकले बुझेनन्, तर भावना बुझे । 

जब नाटक सकियो, तब ताली बज्यो र निरन्तर बजिरह्यो । कृष्नगर जीवोनेर एकतान पश्चिम बंगालका कलाकारहरुको लागि त्यो अनपेक्षित थियो । नाटकको चरित्रबाट बाहिर निस्कनै पाएका थिएनन्, दर्शकको त्यो हौसलाले उनीहरु भावविह्वल भए अनि स्टेजमै रुन लागे । दर्शकहरु पनि रोइरहेका थिए । एकछिन त दर्शक र कलाकारहरुको रुवाबासी नै चल्यो ।

कार्यक्रमका प्रमुख अतिथी जसराज किराँतीले कलाकारहरुलाई रुद्राक्षको माला लगाइदिए । महिलाहरुले एक एक गरेर स्टेजलाई ढोगिरहे । उनीहरुका आँशु थामिएका थिएनन् । मुस्किलले आफ्नो परिचय दिए ।

रुँदै नाटककी निर्देशक शुभ्रा रोयले भनिन्, ‘नेपालप्रति, इटहरीप्रति हामी आभारी छौं ।’

उनले हिन्दी भाषामा आफ्नो नाट्य समुहले आमा पुस्ता र छोरी पुस्तालाई समेटेर कसरी दुई टिम बनाएर काम गरिरहेको छ भन्ने जानकारी दिइन् । यस्तै कलालय इटहरीलाई मायाको चिनो दिँदै उनले पश्चिम बंगालमा हुने थिएटरमा कलालयलाई निम्तोसमेत दिइन् ।

आयोजक कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीले अनुभव, तरिका र प्रतिभाहरुको अन्दरदेशीय प्रवाहका लागि यस्तो रंगमन्च उपयोगि भएको बताए । उनले दुई देशलाई जोड्ने माध्यम कला पनि भएको टिप्पणी गरेका छन् ।

कलालय इटहरीले इटहरीमा दोस्रो पटक अन्तरदेशीय साझा रंगमन्च गरेको हो । यसअघि कोभिडको महामारी अघि गरेको थियो । आइतबारदेखि सुरु भएको दोस्रो पटकको यो कार्यक्रम मंगलबार सकिनेछ । जसमा सोमबार दमकको कदम थिएटर र विराटनगरस्थित आरोहण गुरुकुलको नाटक प्रस्तुत गरिनेछ । यस्तै मंगलबार शत्रु नाटकलाई दुई शोमा देखाइनेछ ।

कलालय इटहरीले बालबालिकाहरुसँगको स्कुल थिएटर ८ औं संस्करण सम्पन्न गरिसकेको छ । जसबाट अहिलेसम्म सय जनाभन्दा बढी स्कुले बालबालिकाहरुले नाटक सिकेर स्टेजमा आफ्नो प्रतिभा प्रदर्शन गरिसकेका छन् ।