सन्दीप लामिछानेलाई कप्तानबाट निलम्बन गर्ने क्यानको तयारी

न्युजलय २२ भदौ २०७९, बुधबार ०५:३३ मा प्रकाशित

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान सन्दीप लामिछानेलाई निलम्बनको तयारी गरेको छ। 

नेपाली किक्रेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा बलात्कारको उजुरी परेपछि मुद्दा किनारा नलागेसम्म नेपाली क्रिकेट टिमको कप्तानबाट निलम्बन गर्नको लागि क्यानले आकस्मिक बैठक बोलाएको छ। 

क्यानका अध्यक्ष चतुरबहादुर संघले बैठकमा यस विषयमा निर्णय लिने बताए। कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज गएसँगै रोहितले नेपालको कप्तानी गरिरहेका छन्। 

अब उनैलाई कार्यवाहकको जिम्मेवारी दिने तयारी रहेको बताइएको छ। क्यानले गत वर्षको मंसीरमा सन्दीपलाई राष्ट्रिय टिमको कप्तान नियुक्त गरेको थियो। 

सन् २०२२ मा टि–२० मा सर्वाधिक विकेट लिने विश्वकै बलरहरूको सूचीमा उनी एक नम्बरमा छन्।

सन्दीप अहिले नेपालमा छैनन्। उनी ६ भदौमा टी–२० सिरिज खेल्नका लागि केन्या गएका हुन्।