खोला खन्न नपाइने समयमै इटहरीको बुढी खोला उत्खनन्, प्रशासन मुकदर्शक

न्युजलय ३१ भदौ २०८०, आइतबार ११:२३ मा प्रकाशित

इटहरी । नेपालका खोला नदीमा साउन १ गतेदेखि असोज मसान्तसम्म उत्खनन गर्न पाइँदैन । कतिपय ठेकेदारहरुले लुकी चोरी उत्खनन गर्दा कारवाहीको भागेदारसमेत बन्ने गरेका छन् । तर इटहरीमा भने उपमहानगरपालिका आफैले नियमविपरीत उत्खनन गराइरहेको छ भन्ने सुन्दा पत्याउन गाह्रो पर्छ । 

ठेकेदारहरुलाई अनुगमन र कार्वाहि गर्ने स्थानिय सरकार आफैले नियमलाई वेवास्ता गर्दै बुढी खोलाबाट गिटी र वालुवा उठाइरहेको छ । इटहरी वडा नम्बर ३ मा रहेको तिव्रेणी सङ्गममा उपमहानगरपालिकाको मेसिन र ट्याक्टर पसेर खोला खनेपछि केही वडाध्यक्षले विरोध जनाएका छन् । 

वडा नं. ९ का वडाध्यक्ष जितेन्द्र थापाले ‘बुढी खोलाको अबैध उत्खननमा इटहरी उपमहानगरपालिकाको भुमिका के हो ? सार्वजनिक गरियोस्’ भनेर लेखेका छन् । आफ्नो वडामा खोला खनिएको बारेमा वडा नं. ३ का वडाध्यक्ष उमेश सुवेदीसमेत अनभिज्ञ र असन्तुष्ट छन् । नगरका प्रवक्ता वडा नं. ६ का वडाध्यक्ष दिवस पोख्रेललेसमेत आफूलाई खोला खनिएको बारेमा केही थाहा नभएको प्रतिक्रिया दिएका छन् ।

राष्ट्रियपती चुरे संरक्षण योजना अन्तरगत साउन १ गतेदेखि असोज मसान्त सम्म खोला खन्न प्रतिबन्ध लगाइएको छ । तर इटहरी उपमहानगरपालिकाले स्काभेटरलगाएर ५ वटा ट्याक्टरमा दैनिक १ सय ५० टिप ढुङ्गा गिट्टि ओसारिरहेको हो । 

खोला उत्खननका लागि वातावरणीय अध्ययन गर्नुपर्छ । उक्त अध्ययन प्रतिवेदन स्वीकृत भएपछि मात्र तोकिएको मापदण्डमा रहेर खोलाजन्य वस्तु निकाल्न पाइने नियम छ । तर उपमहानगरपालिका आफैले नियम उल्लंघन गरेको छ । 

एक वर्षअघि यसैगरी खोला खन्न खोज्दा वन कार्यालयले इटहरी उपमहानगरपालिकाको ट्याक्टर नियन्त्रणमा लिएको थियो । यसपटक भने वन कार्यालय र जिल्ला प्रशासन कार्यालयसमेत मुकदर्शक बनेको भन्दै स्थानीय युवा अभियन्ता सुनिल कार्कीले सामाजिक सञ्जालमा पटक पटक कुरा उठाएका छन् । 

उपमहानगरपालिकाले भने यस विषयमा आधिकारीक धारणा सार्वजनिक गरेको छ्रैन ।