आफूलाई सलाम नगरेको भन्दै वरिष्ठ हवल्दारले जवानलाई हाने झापड

न्युजलय २७ चैत २०८०, मङ्गलबार ०८:३३ मा प्रकाशित

काठमाडौँ । सिंहदरबारमा आफूलाई सलाम नगरेको भन्दै वरिष्ठ हवल्दारले जवानलाई झापड हानेका छन् ।

अर्थमन्त्री वर्षमान पुनका चालक वरिष्ठ हवल्दार उज्वल भण्डारीले जवान सुन्दर सिंहलाई दुर्व्यवहार गरेका हुन् । दुर्व्यवहारमा पर्ने जवान सिंहदरबार सुरक्षा गणमा कार्यरत छन् । उनी गणका प्रमुख एसपी सन्तोष तामाङका व्यक्तिगत सुरक्षा अधिकृत हुन् ।

सलाम नगरेको आरोपमा सिंहलाई वरिष्ठ हवल्दारले दुर्व्यवहार गरेको सिंहदरबार सुरक्षा गणका एकजना अधिकृतले बताए । प्रहरी प्रधान कार्यालयस्थित सुरक्षा सेवा निर्देशनालयबाट खटिएका वरिष्ठ हवल्दारविरुद्ध जवानले प्रतिवेदन दिँदै छन् । प्रतिवेदनको आधारमा उनलाई विभागीय कारवाहीका लागि लेखेर पठाउने अधिकृतले जानकारी दिए ।