काँकडभिट्टा नाकाबाट सर्वसाधारणलाई आउजाउ गर्न रोक

न्युजलय ४ माघ २०७८, मङ्गलबार ०८:५७ मा प्रकाशित

झापा । काँकडभिट्टा नाकाबाट अत्यावश्यक कामबाहेक भारतलगायत तेस्रो मुलुक जान र त्यहाँबाट नेपाल आउन स्थानीय प्रशासनले सर्वसाधारणलाई रोक लगाएको छ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पश्चिम बंगालका सहरहरूमा तीव्र रूपमा फैलन थालेपछि नाकामा कडाइ गरिएको हो।

भारतको पश्चिम बंगाल नेपालसँग सीमा जोडिएको राज्य हो। काँकडभिट्टा प्रशासनले सोमबारदेखि आउजाउमा रोक लगाएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

‘हामीले अत्यावश्यक कामबाहेक भारतीय बजारमा किनमेल लगायत अन्य कामका लागि नजान सर्वसाधारणलाई अनुरोध गरेका गरिएको छ । 

सोमबार केही खुकुलो भए पनि मंगलबार बिहानदेखी बिरामी, औषधी र हवाई उडानका लागि भारत जानुपर्ने बाध्यात्मक अवस्था भएका नागरिक र पर्यटकलाई मात्र छोडेको बताइएको छ । 

भारतबाट नेपाल प्रवेश गर्नेहरूलाई अनिवार्य परीक्षण र खोप लगाउन थालिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।