आउँदो चुनावमा पार्टीको सिट बढ्छ; अध्यक्ष नेपाल

न्युजलय ४ साउन २०७९, बुधबार १०:०५ मा प्रकाशित

काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आउँदो प्रदेश र सङ्घको चुनावमा आफ्नो पार्टीको सिट बढ्ने दाबी गरेका छन् ।  

आज काठमाण्डौमा पार्टीको स्कुल विभागले आयोजना गरेको पालिकाका जनप्रतिनिधि अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

अध्यक्ष नेपालले आउँदो प्रदेश र सङ्घको चुनावमा धेरै सिट ल्याउनका लागि तयरीमा जुट्न आवश्यक रहेको बताए ।

‘हामीले गठबन्धनको गीत गाएर आफ्नो तयारीको काम गर्न सकेनौँ । तयारी गरेर लडेको भए जितिन्थ्यो, नजिते पनि सानदार मत आउँथ्यो । समानुपातिकमा २०र२५ लाख मत प्राप्त गर्‍यौँ भने २० देखि २५ सिट हामीले पाउँछौँ । प्रत्यक्ष चुनावमा हाम्रो क्षमता बढ्छ ।’

कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा फुटाएको आरोप लगाए । अध्यक्ष नेपालले ओलीले अहमता देखाएकै कारण अहिलेको अवस्था सिर्जना भइरहेको बताए ।