आज श्री एअरलाइन्सका सबै उडान स्थगित

न्युजलय १७ असार २०८०, आइतबार ०१:३९ मा प्रकाशित

काठमाडौं । आइतवार(आज) श्री एयरलाइन्सका सबै उडान स्थगित हुने भएका छन् । श्री एअरलाइन्स प्रालिले आजका लागि पुर्व निर्धारित सबै उडानहरु स्थगित गरेर विमान परिक्षण गर्ने भएको हो । 

एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शनिवार जारी गरेको प्रेस नोट अनुसार आइतबारका सबै उडान स्थगित गरिएको छ । उनका अनुसार श्री एअरलाइन्सका सबै उडान स्थगित गरी आइतवार दिनभर कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको छ ।

सोमबारदेखि भने सबै उडान नियमित रुपमा सञ्चालन हुनेछन्  । शनिबार काठमाडौंबाट धनगढीका लागि दिउँसो ३ः३० बजे उडेको विमानमा प्राविधिक समस्या आएको थियो ।

जसकारण धनगढी उडेको सो बिमान पुनः काठमाडौं नै फिर्ता गरी अबतरण गराईएको थियो । सो घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय लिएको श्री एअरलाइन्सले जनाएको छ ।