सुनसरीको रामधुनीबाट शैक्षिक भ्रमण गएको गाडी दुर्घटना

न्युजलय १६ मङ्सिर २०८२, सोमबार १०:५६ मा प्रकाशित

इटहरी । सुनसरीको रामधुनीबाट विद्यार्थी बोकेर शैक्षिक भ्रमणमा गएको गाडी दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।

शैक्षिक भ्रमणमा तेह्रथुम पुगेर सुनसरीतर्फ फर्किदैँ गरेको को १ ख ५३१३ नम्बरको बस धनकुटा नगरपालिका–७ रमाइलो घुम्तीमा आफैं अनियन्त्रित भएर आइतवार दिउँसो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त बस सुनसरीको रामधुनी नगरपालिका–५ स्थित पिंक लोटस इङ्लिस बोर्डिङ स्कुलले भ्रमणमा लगेको हो ।

बसमा चालकसमेत गरेर अन्दाजी ४१ जना रहेको जनाइएको छ । सडकबाट तल खसेको बसमा सवार व्यक्तिहरू घाइते भएपनि मानवीय क्षति भने भएको छैन ।

दुर्घटनामा परेर घाइते भएकालाई प्रहरी र स्थानीयले उद्धार गरेर अस्पताल लगेका छन्। उनीहरूको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।