काठमाडौं । माओवादी केन्द्र र नेपाली काँग्रेससहितका राजनीतिक दलको सत्ता गठबन्धन टुटेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र, रास्वपा र जनता समाजवादी पार्टी मिलेर नयाँ गठबन्धन बनाएका छन् । जसमा माओवादी र एमालेबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको बताइएको छ ।
माओवादी केन्द्रका एक शीर्ष नेताका अनुसार माओवादी केन्द्रका अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरुको दुई वर्षसम्म सरकार चलाउने छन् । त्यसपछि बाँकी दुई वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् ।
गठबन्धनका यी चार दलका शीर्ष नेताहरुबीच आठ बुँदे लिखित सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमति पत्रमा राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्रले र उपाध्यक्ष नेकपा एमालेले लिने लगायतका विषय उल्लेख भए पनि सरकारको नेतृत्व आलोपालो गर्नेबारे भने उल्लेख छैन ।
प्रचण्ड र ओलीले दुई–दुई वर्ष सरकारको नेतृत्व गर्दा आफूलाई काम गर्न सहज हुने गरी मन्त्रालय लिने विषयमा पनि समझदारी भएको माओवादीका ती नेताले बताए ।
प्रचण्डले नयाँ सत्ता गठबन्धनबाट एमाले, माओवादी केन्द्र र रास्वपाका एक–एक जनालाई मन्त्रिपरिषदमा समावेश गरिसकेका छन् । तत्कालका लागि एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्याल गरी तीन जना मन्त्री बनेका छन् । तर उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।