पोखरा । पोखरा महानगरपालिका मेयर धनराज आचार्यले पुर्ख्यौलीबाहेक ५० करोड रुपैयाँ निजी आर्जन गरेको सम्पत्ती विवरण पेश गरेका छन् ।
उनले पोखरा र काठमाडौंमा चार वटा घर र जग्गा रहेको खुलाएका छन् । जसको मूल्यांकन १५ करोड रुपैया गरिएको छ ।
आचार्यको २५ करोड ९९ लाख ४५ हजार ६ सय १६ रुपैयाँ बराबरको सेयर र विभिन्न कम्पनीमा लगानी छ । मादी गाउँपालिकास्थित सुपर मादी हाइड्रो र हेवा खोला हाइड्रो पावरका प्रमुख सञ्चालक रहेका आचार्यसमेत संलग्न तमोर जलविद्युत आयोजना निर्माणको चरणमा रहेको छ । उनको मेगा बैंक र सिटी डेभलपमेन्ट बैंकमा प्रमुख सेयर छ ।
२ करोड रुपैयाँ बराबरको कार, भ्यान र ३ वटा स्कुटर छन् । यस्तै ५ तोला हिरा, ५४ तोला सुन र ३८ तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
आचार्यले विद्यार्थी राजनीति गर्दै गर्दा व्यवसायमा हात हालेका थिए । उनी अहिले एकीकृत समाजवादीबाट पोखराको मेयर बन्न सफल भएका छन् ।