गाईघाटमा मेडिकल कलेज सञ्चालन गरिने

न्युजलय २७ माघ २०८०, शनिवार ०६:४९ मा प्रकाशित

गाईघाट । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले त्रियुगा नगरपालिकाको गाईघाटमा मेडिकल कलेज सञ्चालनका लागि अनुमति प्रदान गर्न सरकार तयार रहेको बताएका छन् ।

शनिबार बिहान नगरपालिकाको कार्यक्रम हलमा आयोजित कार्यक्रममा मन्त्री राईले वर्तमान सरकारले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रको विकासमा जोड दिइरहेको भन्दै गाईघाटमा मेडिकल कलेज सञ्चालनका लागि सङ्घीय सरकार प्रतिबद्ध रहेको बताए ।

जिल्लामा मेडिकल कलेज सञ्चालनका लागि स्थानीयले पटकपटक सरकारसँग माग गर्दै आएका छन् ।

स्थानिय सरकारले उचित स्थानमा कलेज सञ्चालनका लागि जग्गा उपलब्ध गराए सरकार स्वीकृति प्रदान गर्न तयार रहेको उनको भनाइ थियो ।

देशभरि छ वटा मेडिकल कलेज सञ्चालनका लागि सरकारले स्वीकृति प्रदान गर्ने तयारी गरिरहेको भन्दै मन्त्री राईले स्थानीय सरकारले उचित स्थानमा जग्गा उपलब्ध गराएपछि सरकारले स्वीकृति प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।