काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले एमसीसीको विरोधमा सशक्त ढंगले आवाज उठाउनुपर्ने बताएका छन् ।
एमाले नेता रावलले एमसीसी संसदबाट पारित भए मुलुकमा समानान्तर सरकार बन्ने खतरा रहेको औंल्याउँदै त्यसलाई रोक्न सबैले आवाज उठाउनुपर्ने तर्क गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका उनले एमसीसी संशोधनविना नै संसदबाट पारित गरिए त्यसले मुलुकलाई शक्ति राष्ट्रहरूको द्वन्द्व र संघर्षमा परिणत गर्ने चेतावनीसमेत दिएका छन् ।
नेता रावलले कुनै पनि देशभक्त नेपालीले त्यो सम्झौता मान्न नसक्ने अडान पनि उनले दोहोर्याएका छन् । उनले एमसीसी सम्झौता संशोधन गरेर भने अघि बढाउन आफू पनि सहमत रहेको बताए ।
नेता रावलले मुलुकको सार्वभौमिकतामाथि आँच आउने खालका कुनै पनि सम्झौता नेपालका लागि स्वीकार्य हुनै नसक्ने बताए ।
नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले एमसीसी पारित गर्ने काम गरियो भने मुलुक गम्भीर दुश्चक्रमा फस्ने चेतावनी दिए ।
पूर्वराजदूत लीलामणि पौडेलले एमसीसी राष्ट्र हितमा नरहेकाले त्यसलाई अगाडि बढाउन नसकिने स्पष्ट पारे । नेपालको हित प्रतिकूल हुने खालका सम्झौताहरू हटाइए एमसीसी मानेर अघि बढ्न नेपाल तयार रहेको पनि बताए ।