कोसीका नवनियुक्त मुख्यमन्त्री थापाले आज शपथ लिने

न्युजलय २२ असार २०८०, शुक्रबार ०२:०६ मा प्रकाशित

विराटनगर । कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज (शुक्रबार) बिहान पद तथा गोपनियताको शपथ लिने भएका छन् । 

प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई बिहान ९ बजे शपथ ग्रहण गराउने कार्यक्रम छ । प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीको शपथग्रहणको सबै तयारी पूरा भएको जनाएको छ । शपथपछि मुख्यमन्त्री थापाले केही मन्त्री नियुक्त गर्दै आजै सानो आकारको मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । 

कम्तीमा ३ जना मन्त्री नियुक्त गर्ने तयारी रहेको बताइएको छ । कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता थापा बिहीबार प्रदेशको पाँचौं मुख्यमन्त्री नियुक्त भएका थिए । 

गठबन्धनका तर्फबाट दाबी पेश गरेका उनलाई प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । 

गठबन्धनका तर्फबाट माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी ९जसपा० र सभामुख बाबुराम गौतमसमेतको समर्थनमा कांग्रेस नेता थापा मुख्यमन्त्री बने । उनलाई कांग्रेसका २९, माओवादीका १२, समाजवादीका ४ र जसपाका १ जना प्रदेशसभा सदस्य (सांसद)को समर्थन छ ।