मंसिर ४ गतेको चुनावका लागि १० हजार ८८८ मतदानस्थल तय

न्युजलय २१ भदौ २०७९, मङ्गलबार ०१:३२ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने चुनावका लागि देशभर १० हजार ८८८ मतदानस्थल तय गरेको छ ।


यो यसअघिको चुनावको भन्दा १३२ धेरै हो । यसअघि देशभरका जम्मा १० हजार ७५६ मतदानस्थल रहेका थिए । मतदानस्थल पुनरावलोकन गर्दा समग्रमा १ हजार १२३ मतदानस्थलमा केही न केही परिवर्तन गरिएको छ । देशभरका ४०१ मतदानस्थललाई हटाई नयाँ मतदानस्थल निर्धारण गरिएको छ ।

 

मतदान व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा मतदातालाई मतदान प्रक्रियामा सहज पहुँचका लागि मतदाताको संख्या, सुविधा एवं सुरक्षाको अवस्था समेतलाई मध्यनजर गरी केही मतदानस्थल पुनरावलोकन गरिएको आयोगले जनाएको छ ।


साविकका ३६५ मतदानस्थलबाट सबै मतदाता स्थानान्तरण गरी ३६४ मतदानस्थल निर्धारण गरिएको छ भने १६३ मतदानस्थलबाट आंशिक मतदाता स्थानान्तरण गरी १६९ मतदानस्थल निर्धारण गरिएको छ । आयोगका अनुसार २८ वटा मतदानस्थलका सबै मतदातालाई २८ वटै मतदान स्थलमा र १५ मतदान स्थलका आंशिक मतदातालाई स्थानान्तरण गरी १३ वटा मतदान स्थलमा गाभिएको छ ।

 

मतदाताको सघनता, मतदान स्थलसम्मको पहुँच, भवन, सञ्चार, विद्युत, यातायात लगायतका पूर्वाधारको अवस्था, सुरक्षा एवं भौगोलिक अवस्था र निर्वाचनका सरोकारवालाहरूको सहमति समेतका आधारमा जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले गरेको सिफारिस बमोजिम मतदानस्थल पुनरावलोकन गरिएको हो ।