आफैंले बलात्कार गरेकी पीडित महिलालाई भेट्न गएका युवकलाई भिडले कुटेर मारे

न्युजलय २९ फाल्गुण २०७८, आइतबार ०१:०१ मा प्रकाशित

काठमाडौं। आफैंले बलात्कार गरेकी एक पीडितलाई भेट्न गएका एक युवकलाई भिडले कुटेर मारेका छन् । 

मृतक युवकको शव उखु खेतमा भेटिएको छ । भारतको उत्तर प्रदेशको मुजफ्फरनगरमा युवकको शव अर्धनग्न अवस्थामा उखु खेतमा भेटिएको हो । मृतक युवकका परिवारले गाउँकै अर्को एक परिवारले पुरानो रिसिबीका कारण उनको हत्या गरेको आरोप लगाएको भारतीय मिडियाले जनाएका छन् ।

मुजफ्फरनगरको तितावी थाना क्षेत्रमा शनिबार दिउँसो ३३ वर्षका प्रदिप भनिने सोनुको शव उखु खेतमा भेटिएको थियो । मृतकका भाइ अंकितका अनुसार सोनु केही वर्ष पहिले बलात्कारको आरोपमा जेल पनि गएका थिए । २ वर्ष पहिले उनी जमानतमा छुटेका थिए ।

परिवारका अनुसार शनिबार सोनु आफूलाई बलात्कारको आरोप लगाउने महिलालाई भेट्न गएका थिए । त्यसपछि महिलाको पक्षका मानिसहरु लाठी बोकेर सोनुको घर आएका थिए ।

उनीहरुलाई देखेर सोनु घरबाट भागेका थिए । मृतकको परिवारको दावी अनुसार भिडले उनलाई बाटोमा कतै भेरेर उनको हत्या गरेको र त्यसपछि शवलाई खेतमा फालिदिएका हुन् । 

पुलिसले शवलाई पोस्टमार्टमको लागि पठाएर थप अनुसन्धान गरिरहेको छ ।