विमला वलीविरुद्ध छानविन प्रतिवेदन : मर्यादा भुलेर अरूको घरमा झगडा गर्न जानू गलत

न्युजलय १९ असार २०७९, आइतबार ०१:३२ मा प्रकाशित

दाङ । लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले वाइसियल नेता एकराज बस्नेतको घरमा गरेको हर्कत मर्यादा बिपरित भएको निष्कर्ष छानविन समितिले निकालेको छ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा संञ्चार मन्त्री तिलकराम शर्मा संयोजक रहेको तीन सदस्य छानविन समितिले यस्तो निष्कर्ष निकालेको हो । जेठ ३१ गते तत्कालिन लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री वलीले बस्नेतको घरमा गएर उनकी श्रीमती मीना र साढे तीन वर्षीया छोरीमाथि कुटपिट गरेकी थिइन् । 

प्रारम्भिक रूपमा वलीको कमजोरी देखिएको निष्कर्ष निकालिएको छ । प्रतिवेदनको अध्ययन पछि मात्रै सरकार र पार्टीले आवस्यक कदम चाल्ने बताइएको छ । 

छानविनको क्रममा वली र एकराज बस्नेतबीच साढे ६ लाख रुपैयाको लेनदेन भएको खुलेको थियो । तर पैसा उठाउन भन्दै त्यसरी जानु गलत रहेको प्रतिवेदनमा उल्लेख छ ।