ओलीद्वारा बजेट सच्याउन माग

न्युजलय २४ जेठ २०८०, बुधबार ०२:०३ मा प्रकाशित

काठमाडौ । एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले सरकारले ल्याएको बजेटले आम रूपमा नेपाल र नेपालीको प्रतिनिधित्व गर्न नसकेकाले बजेट सच्याउन माग गरेका छन्।

बजेट सच्याए सरकार असफल भयो भनेर आफूहरूले नभन्ने अध्यक्ष ओलीको भनाइ थियो। प्रतिनिधिसभाको मंगलबारको बैठकमा आव २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलमा भाग लिँदै उनले बजेटले समग्रतामा कमजोर देखिएको बताए। बजेटले राष्ट्रको हित गर्नेतर्फ ध्यान नदिएको उनको टिप्पणी छ।

बजेटको चिलको जस्तो आँखा हुनुपर्नेमा लाटोकोसेरोको जस्तो भएको उनले बताए। राष्ट्रको हित, विकास निर्माण र समृद्धि, रोडम्याप प्रस्ताव गर्न बजेट चुकेको बताउँदै उनले मौलिक मूल्यलाई बजेटले आत्मसात गर्न नसकेको बताएका थिए ।