चोलेन्द्रलाई नजरबन्दमा राखेर सरकारले तमासा गरेको ओलीको टिप्पणी

न्युजलय ३ असोज २०७९, सोमबार ०१:५० मा प्रकाशित

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घर घेरेर र उनलाई नजरबन्दमा राखेर तमासा गरेको टिप्पणी गरेका छन्।


आइतबार बालकोटस्थित निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रधानन्यायाधीश माथिको महाअभियोग प्रस्ताव पारित नभएपछि सकिएको तर्क गरे। उनले सत्ता पक्षले बेलैमा प्रक्रिया अगाडि नबढाएर सफाइ दिएको आरोप लगाए।


ओलीले भने, ‘हिजो संसदको अधिवेशन सकियो र संसदको कार्यकालै सकियो। महाअभियोग पारित भएन। दर्ता भयो र पारित भएन भनेपछि कुरा सकियो। त्यसमा सत्तापक्षले उहाँलाई सफाइ दियो। आफैं बिलम्ब गरेर, प्रक्रिया अगाडि नबढाएर सफाइ दियो। आफैंले खनेको खाल्डोमा आफैं परेर सफाइ दियो ।’