काठमाडौँको फोहोर उठाउन सहमति

न्युजलय २७ जेठ २०७९, शुक्रबार ०२:११ मा प्रकाशित

काठमाडौ । काठमाडौँको फोहोर व्यवस्थापन गर्न मध्यरातमा १८ बुँदे सहमति भएको छ । 

अब काठमाडौँ महानगरपालिकाबाट बञ्चरे डाँडा कुँडुलेसम्म फोहोर ढुवानी गर्ने कार्य दीर्घकालीन रूपमा रातीको समयमा गर्ने सहमति भएको छ । रातीको लागि आवश्यक पर्ने पूर्वाधार बत्ती तथा बाटोको निर्माण तथा व्यवस्था महानगरपालिकाले तीन महिनाभित्र गर्नुपर्नेछ । 

सिसडोल तथा बञ्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौँ महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्नेछ भने फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी दुई महिनाबाट वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने भनिएको छ । फोहोर बोक्ने गाडीबाट बाटोमा लिच्चड नचुहिने व्यवस्था पनि एक महिनाभित्रै गर्नुपर्ने र प्रभावित क्षेत्रको अध्ययन गरी क्षेत्र छुट्याउने र अध्ययनले दिएकबो कार्यहरू कार्यान्वयन गर्न पहल गरिने सहमति भएको छ । 

प्रभावित क्षेत्रको पहिचान भइसकेपछि अधिग्रहण, मुआब्जा वितरण लगायतका कार्य गर्न महानगरपालिकाले सरकारको सम्बद्ध मन्त्रालय तथा निकायमा पहल गर्नेलगायतको सहमति भएको छ । 

सहमतिअनुसार शुक्रबारदेखि फोहोर बिसर्जनमा स्थानीयबाट हुँदै आएको अवरोध हट्ने बताइएको छ । जेठ २३ गते फोहोर उठाउन दिने भनेर त्रिपक्षीय सहमति भएपनि  प्रभावित क्षेत्रका बासिन्दाले अवरोध कायम गर्दै आएका थिए । तर, प्रभावित क्षेत्रका तर्फबाट बिहीबार मध्यराति भएको सहमतिपत्रमा ककनी गाउँपालिका वडा नम्बर १ र २ का अध्यक्ष तथा धुनिवेशी नगरपालिका वडा नम्बर १ र २ का अध्यक्षले हस्ताक्षर गरेका छन् । महानगरपालिकाको तर्फबाट मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले सहमतिमा हस्ताक्षर गरेका छन् ।