नेपालीपछि धेरै बोलिने मातृभाषा मैथिली

न्युजलय २० जेठ २०८०, शनिवार ०५:४१ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालको जातजाति, भाषा तथा धर्मसम्बन्धी तथ्यांकीय नतिजा सार्वजनिक गरेको छ ।

कार्यालयले शुक्रवार सार्वजनिक गरेको विवरणअनुसार नेपालमा १४१ वटा जातजाति रहेका छन् । नेपालमा बोलिने मातृभाषा १२४ रहेको कार्यालयले जनाएको छ ।

कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार नेपालमा एक करोड ३० लाख चार हजार ४५७ जनाको मातृभाषा नेपाली रहेको छ ।

जुन कूल जनसंख्याको ४४.८६ प्रतिशत हो । नेपालीपछि सबैभन्दा धेरै बोलिने मातृभाषा मैथिली हो । नेपालमा मैथिली भाषा बोल्नेको संख्या ३२ लाख २२ हजार ३९ रहेको छ । जुन कूल जनसंख्याको ११.०५ प्रतिशत हो । 

कार्यालयको विवरणअनुसार नेपालमा ६. २४ प्रतिशतको मातृभाषा भोजपुरी, ५.८८ प्रतिशतको थारू र ४.८८ प्रतिशतको तामाङ रहेको छ । 

राष्ट्रिय जनगणना २०७८ मा जातजातिको संख्या, मातृभाषा संख्या र धर्म संख्या कायम भएको कार्यालयले जनाएको छ ।