काठमााडौं । विश्वभरीका धनीहरुको बारेमा सूची प्रकाशन गर्ने फोब्स पत्रिकाले यो वर्ष पनि विश्वभरीका डलर अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ ।
सार्वजनिक सूचीअनुसार दक्षिण एशियामा भारत बाहेकका अर्बपति नेपालका विनोद चौधरी मात्र रहेका छन् । दक्षिण एशियाका देशहरुमध्ये डलर अर्बपति रहेका देशमा भारत र नेपाल मात्र परेका हुन ।
दक्षिण एशियाका अन्यमुलुकहरु श्रीलंका, भुटान, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तानका कुनै पनि व्यवसायी अर्बपतिको सूचीमा परेका छैनन् ।
नेपालका एकमात्र डलर अर्बपति चौधरीको सम्पत्तीमा पनि वृद्धि भएको छ । फोब्सकाअनुसार उनको सम्पत्ती गत वर्ष १ दशमलव ४ अर्ब डलर रहेकोमा यो वर्ष १० करोड डलरले वृद्धि भई १ दशमलव ५ अर्ब डलर पुगेको छ ।
व्यवसायी चौधरी फोब्सको सूचीमा १ हजार ९२९ नम्वरमा छन् । चौधरी २०१३ देखि अर्बपतिहरुको सूचीमा निरन्तर रहन्दै आएका छन् ।
उक्त सूची अनुसार दक्षिण एशियाको अर्को मुलुक भारत विश्वका धेरै अर्बपति रहेको मुलुकहरुमध्ये तेस्रो भएको छ ।