एमालेले निर्वाचन होइन, महासंग्राम लडेको होः अध्यक्ष ओली

न्युजलय २ असार २०७९, बिहिबार ०७:५३ मा प्रकाशित

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचित जनप्रतिनिधिले निर्वाचन नभएर महासंग्राम जितेको बताए।

पार्टीले निर्वाचित प्रमुख–उपप्रमुखलाई प्रशिक्षण दिन काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

‘तपाईंहरुले यो पटक निर्वाचन होइन महासंग्राम लडेर आउनुभएको हो, अधिनायकवादविरुद्ध लड्नु भएको हो, अध्यक्ष ओलीले भने, ‘सत्ताको आडमा सम्पूर्ण प्रतिक्रियावादी शक्ति एक भएर लागे। बुथ कब्जा गरियो। प्रशासनको आडमा पैसा बाँडियो। मतपेटिका फेरियो। यो अवस्थामा चुनाव लड्नुभएको हो।’

एमालेलाई पत्तासाफ गर्ने भन्दै निर्वाचनमा होमिएका सत्ता गठबन्धनविरुद्ध निर्वाचन लडेर सम्मानजनक स्थानीय तहमा आफ्नो पार्टी विजयी भएको ओलीको दाबी छ। 

उनले स्थानीय तहको निर्वाचनमा कुप्रचार, षड्यन्त्र, जालझेल गरी सत्ताको दुरुपयोग गरिएको आरोप लगाए।