काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार(भोली) नेपाल आउँदै छन् ।
भारतीय प्रधानमन्त्रीको रुपमा पाँचौं पटक नेपाल आउन लागेका मोदी सोमबार सिधैँ लुम्बिनी आएर सोही दिन स्वदेश फर्कने छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजना गरिने एक विशेष समारोहमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । तय भएको कार्यक्रम अनुसार मोदी भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा सोमबार बिहान एघार बजेतिर लुम्बिनी आउने छन् ।
हेलिकप्टरबाट झरेपछि उनी सिधै मायादेवीको मन्दिर जाने कार्यक्रम रहेको छ । त्यहाँ दुवै देशका प्रधानमन्त्री प्रार्थनामा सहभागी हुनेछन् ।
मोदीले लुम्बिनीमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।