झारफुक गरिदिने भन्दै त्रिशूलले घोचेर हत्या

न्युजलय २५ पुस २०७८, आइतबार ०१:३१ मा प्रकाशित

काठमाडौ । सिन्धुपाल्चोककी १४ वर्षीया किशोरी रोशनी श्रेष्ठको झारफुक गर्ने धामीले हत्या गरेका छन् । काठमाडौंको नागार्जुन नगरपालिका १ स्थित पानी ट्याङ्कीमा धामी उमा शाही ठकुरीले आफ्नो छोरीको हत्या गरेको आरोप लगाएकी हुन् ।

आफूले उपचारको लागि छाडेर गएकी छोरीको हत्या भएको उनले बताइन् । धामीले निको पार्ने भनिसकेपछि छोरी छाडेर आमा फर्किएकी थिइन् । तर त्यसको २१ दिनपछि छोरीको निधन भएको छ । मृतकको शरीरका विभिन्न भागमा निलडाम देखिएको छ भने नाकबाट रगत बगेको र रगत जमेको अवस्थामा देखिएको छ । रहस्यमय ढंगले मृत्यु भएको रोशनीको धामीले त्रिशूलले घोचेर गएराति हत्या गरेको आफन्तले दावी गरेका छन् ।

सामान्य कहिलेकाहीँ टाउको दुख्ने समस्या समाधानका लागि आमा छोरी त्यहाँ पुगेका थिए । राति कुटपिट भएर रोशनी बेहोस भएपछि अवस्था जटिल भएको भन्दै आमालाई खबर गरिएको पीडितको भनाइ छ । धामीले खबर गरेपछि आफन्त पुगेर स्वयम्भुस्थित मनमोहन अस्पताल लगेपनि पहिल्यै बच्चाको मृत्यु भएको जानकारी गराइएको थियो ।

​पीडित परिवारको उजुरीपछि प्रहरीले धामी ठकुरीलाई पक्राउ गरेको छ । हिरासतमा पनि धामीले काप्नेदेखि अनेक जादुकला देखाउने गरेको पीडितहरुले बताएका छन् ।