वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन

न्युजलय २ असोज २०७९, आइतबार ०३:०५ मा प्रकाशित

काठमाडौं । वरिष्ठ पत्रकार देवेन्द्र गौतमको आज बिहान ७७ वर्षको उमेरमा निधन भएको छ । उनी बी एण्ड बी अस्पतालको भेन्टिलेटरमा उपचाररत थिए । 


नयाँ करेन्ट साप्ताहिकका सम्पादक एवं प्रकाशक गौतमलाई न्युमोनिया देखिएपछि सघन उपचार कक्ष (आइसियू) मा उपचार गरिएमा पछि भेन्टिलेटरमा राख्नु परेको थियो । 


सम्पादक समाज नेपालका पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघका का.वा. सभापति गौतमलाई कोभिड संक्रमणबाट मुक्त भएपछि पनि श्वासप्रश्वासमा गाह्रो भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।


पाँच दशक लामो सक्रिय र स्वतन्त्र पत्रकारिता जीवनमा उनले सदा प्रजातन्त्रका पक्षमा कलम चलाएका थिए । पञ्चायत कालमा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा उभिँदा उनीबाट सम्पादन र प्रकाशन हुने झण्डै एक दर्जन पत्रिकालाई प्रशासनले रोक लगाएको थियो ।


२०४२ को बम काण्डका बेला रामराजाप्रसाद सिंहको भाषण अंश छापेको निहुँमा उनलाई छ महिना हनुमानढोकामा थुनिएको थियो । त्यहीँको अनुभवमा उनले अनुसन्धानभित्रको अनुसन्धान पुस्तक लेखे । उनलाई नेपाल सरकारले सुप्रबल जनसेवाश्री पदक प्रदान गरेको छ ।


उनका छोरा किरण गौतमका अनुसार उनको अन्त्येष्टि अहिले बिहान पशुपति आर्यघाटमा गरिने छ ।